समाचार

‘कोरोना भनेको रूघाखोकी हो, बेसार पानीले सञ्चो हुन्छ भन्ने बुझाइले संक्रमण फैलिएको छ’

काठमाडौंमा कोरोना संक्रमितको संख्या उकालो लाग्दै थियो। त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्रका सह-प्राध्यापक रञ्जनकुमार दाहाललाई भने घरमा बस्ने फुर्सद थिएन।लकडाउनकै बीचमा उनी एउटा अध्ययनका लागि इलाम पुगे। इलामबाट फर्केको केही दिनपछिको कुरा हो। आजभन्दा झन्डै २५ दिनअघि उनलाई अकस्मात् सुख्खा खोकी लाग्यो। ज्वरो पनि आयो। उनले धुम्बाराहीको ह्याम्स अस्पतालमा गएर कोरोना परीक्षण गर्न स्वाब दिए र आफू होम क्वारेन्टिनमा बसे।

ज्वरो आएपछि र जिब्रोको स्वाद पनि हराउन थालेपछि उनलाई आफू संक्रमित भएको पक्काजस्तै थियो। नभन्दै रिपोर्ट पोजेटिभ आयो।निकै डर लाग्यो। तै पनि हिम्मत जुटाइरहेको थिएँ,’ उनले भने, ‘परिवार पनि थियो, भर थियो।’कोरोना पोजेटिभ देखिएको पाँच दिनसम्म उनी घरमै छुट्टै कोठामा आइसोलेसन बसे। खोकी र ज्वरो कम भएको थिएन। अर्को दिन उनलाई सास फेर्न गाह्रो हुँदै गयो।

स्वास्थ्य मन्त्रालयले दिएको फोन नम्बर १०२ मा फोन गरेर उनले आफूलाई लक्षण देखिएको र सास फेर्न गाह्रो भएकाले अस्पताल जानुपर्ने जानकारी दिए।फोन गरेको आधा घन्टामै उनलाई लिन एम्बुलेन्स आइपुग्यो। अक्सिजन लगाइदिएर एम्बुलेन्सले बलम्बुको सशस्त्र प्रहरी अस्पताल पुर्‍यायो।उनलाई सुरूमा सामान्य वार्डमा राखिएको थियो। स्वास्थ्यकर्मी आएर जाँच गरे। उनको अक्सिजन कम भइसकेको रहेछ। अनि सिधै आइसियुमा लगे।

‘छाती दुख्ने, ज्वरो आउने र सुख्खा खोकी लाग्ने त धेरै भएको थियो, तर अक्सिजन नै कम भइसकेको होला भन्ने लागेको थिएन। अस्पताल पुग्ने बेलासम्म त म धेरै सिकिस्त भइसकेको रहेछु। बाँचेर फर्किन्छु भन्ने लागेकै थिएन। तीन दिनजति मलाई त्यस्तो भयो,’ उनले भने।उनलाई राखिएको क्याबिनमा सिसी क्यामरा थियो। उनलाई भनिएको थियो, त्यसैबाट डाक्टर र नर्सहरूले नियमित निगरानी गरिरहेका हुन्छन्।

डाक्टर आफ्नो राउन्डमा आइरहन्थे। उनलाई गाह्रोसाह्रो सोधेर जान्थे। आफू जतिखेरै उनीहरूको निगरानीमा छु भन्ने थाहा पाएपछि ढुक्क भएको उनले बताए।त्यो अस्पतालको सेवा साँच्चै राम्रो थियो,’ उनले भने, ‘कोरोना उपचार गर्दा मेरो एक रूपैयाँ पनि खर्च भएन। मैले तिरेको करको नेपाल सरकारले सही रूपमा पे-ब्याक गर्‍यो भन्ने लागेको छ।’

आइसियुमा बस्दा उनलाई बिहान नास्ता र खाना, दिउँसो खाजा र बेलुकी खाना आउँथ्यो। उनलाई खासै केही गुनासो छैन। तर, खाना अझ राम्रो दिए हुन्थ्यो भन्ने लागेको छ।बिसेक हुँदै गएपछि उनलाई केही समयका लागि फोन चलाउन दिइयो। घरबाट कसैको फोन आयो वा आफूले गर्नुपर्यो भने फोन दिइन्थ्यो।

आइसियुमा बसेकै बेला उनले आफूलाई भएको कोरोनाबारे मानिसहरूले गसिप गरेको सुने। त्यस्तो सुन्नुपर्दा खिन्न भए। आइसियुको निरसलाग्दो बसाइमा डर चिन्ता हुन्छ। वरिपरि आफूलाई कुर्ने र भेट्न आउने मानिस हुँदैनन्। आफूलाई यस्तो बेला निकै सम्झाउनुपर्ने हुन्छ। उनले भने आफूलाई कसरी कोरोना लाग्यो भन्ने धेरै नै सोचे।

‘मैले निकै सावधानी अपनाएको थिएँ तर कसरी सर्‍यो भन्ने थाहा नपाइने रहेछ,’ उनले भने, ‘थोरै मात्र कतै न कतै भएको लापरबाहीले नै सर्‍यो होला।’धेरैलाई ‘कोरोना भनेको रूघाखोकीजस्तो हो, बेसार पानीले सञ्चो हुन्छ’ भन्ने बुझाइले पनि संक्रमण फैलिएको उनी बताउँछन्।

आइसियुमा १३ दिन बसेपछि उनी निको भए। अहिले घर फर्किएका छन्। अझै पनि धेरै समय बोल्न सक्दैनन्। थकान भइहाल्छ।यति लामो अस्पताल बसाइको अनुभव जिन्दगीमै पहिलोपटक गरेको उनले बताए। उनलाई यसअघि कुनै पनि रोग थिएन। रोग नलागेका हट्टाकट्टालाई केही हुन्न भनेर सोच्न हुँदैन रहेछ।

‘मलाई केही रोग थिएन तर संक्रमण भएपछि म मृत्युको मुखमै पुगेँ। त्यसैले कोरोनालाई हल्का रूपमा नलिउँ,’ उनले भने।तेह्र दिन आइसियु र पाँच दिन सामान्य वार्डमा बस्दा आफूलाई जाँचेका र हेरचाह गरेका स्वास्थ्यकर्मीलाई उनले चिनेनन्। तर, उनीहरू आफ्ना लागि नदेखिने भगवानको रूपजस्तै भएको उनले बताए।

‘जब अप्ठेरोमा हुन्छौं अनि हामी आफूलाई भगवानकै भर छाड्छौं। पिपिई लगाएका डाक्टर पनि कोरोना संक्रमितका लागि त्यस्तै हुन्,’ उनले भने।खोकी र ज्वरोलाई सामान्य नलिन उनले सबैलाई सुझाएका छन्। ‘यसलाई कसैले पनि सामान्य रूघाखोकी नमान्नुहोला। सुख्खा खोकी र ज्वरो छ भने पिसिआर टेस्ट गर्ने र अस्पतालको तयारी गर्नुहोला,’ उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘मैले मृत्यु नजिकैबाट हेरेर आएको छु।’

Related Articles

Back to top button
Close