समाचार

अब ट्राफिक कारबाहीमा परे पनि कागजपत्र लिन बग्गीखाना जानु नपर्ने

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आफ्नो सेवालाई थप सहज बनाउन उपत्यकाको थप ३ ठाउँका कार्यालयमा सेवा विस्तार गरेको छ ।

महाशाखाले ट्राफिक नियम उलंघन गरी कारबाहीमा पर्ने सवारी चालकको कागजपत्र महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुर, महानगरीय ट्राफिक प्रहरी वृत्त, नयाँ बसपार्क र महानगरीय ट्राफिक प्रहरी प्रभाग, गौशालाबाट पनि फिर्तादिने गरी सेवा विस्तार गरेको हो । यसअघि कारबाहीमा परेका चालकले आफ्ना कागजात महाशाखाको कार्यालय रामशाहपथस्थित बग्गीखानामा आएर लिनुपर्ने व्यवस्था थियो ।

सेवा विस्तार भएसँगै अब भक्तपुर जिल्ला भित्र कारबाहीमा परेका चालकले आफ्नो कागजपत्र भक्तपुर, चुनदेवीस्थित ट्राफिक प्रहरी कार्यालयबाट लिन सक्नेछन् ।

त्यस्तै नयाँ बसपार्क क्षेत्रमा कारबाहीमा परेका चालकले नयाँ बसपार्क ट्राफिक प्रहरी कार्यालयबाट र गौशाला तथा एयरपोर्ट क्षेत्रमा कारबाहीमा परेका चालकले ट्राफिक प्रहरी कार्यालय गौशालाबाट काजगपत्र लिन सक्ने व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ । कारबाहीमा परेका चालकले नियमानुसार तोकिएको जरिवाना भुक्तानी गरी आफ्ना कागजपत्र सम्बन्धित कार्यालयबाट लिन सक्नेछन् ।

ट्राफिक प्रहरीले पछिल्लो समय नियम उलंघन गर्नेलाई कारबाही तीव्र बनाएपछि ट्राफिक कार्यालयमा कागजपत्र फिर्ता लिन आउने सेवाग्राहीको चाप बढ्दै गएको छ । सेवाग्राहीलाई कागजपत्र फिर्ता गर्ने कार्यमा सहजता एवं सरलता प्रदान गर्ने उद्देश्यले यो सेवा मातहतका कार्यालयमा विस्तार गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिमप्रसाद ढकालले जानकारी दिए ।

उक्त सेवा महाशाखा लगायत महाराजगञ्ज, थापाथली , कालिमाटी, कलंकी, सातदोवाटो, दरवारमार्ग, बौद्ध र कोटेश्वरमा पहिलेदेखि नै सञ्चालनमा आएको, महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिए । मापसे र लेन कारबाहीमा परेका कागजपत्रहरू भने महाशाखावाट दिइने सचेतना कक्षा पश्चात् महाशाखाबाटै लिन सकिने छ, उनले भने ।

काठमाडौं उपत्यकामा अहिले दैनिक साढे २ हजारदेखि ३ हजार चालक ट्राफिक नियम उल्लंघन गरेबापत कारबाहीमा पर्ने गरेको महाशाखाले जनाएको छ ।

Related Articles

Back to top button
Close