अन्तर्राष्ट्रिय समाचारबिज्ञान प्रबिधि

रुसले बनाएको खोप भेनेजुएला र फिलिपिन्‍सले प्रयोग गर्ने

मनिला – रुसले कोरोनाभाइरस सङ्क्रमणविरूद्ध बनाएको खोपको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ताहरू व्यक्त भइरहेका बेला उसले त्यस्ता चिन्ताहरूलाई “बिल्कुलै आधारहीन” भनेको छ। रुसले मङ्गलवार देशको नियामक निकायले कोरोनाभाइरस सङ्क्रमणविरूद्ध रुसमै विकसित एउटा खोपलाई स्वीकृति प्रदान गरेको बताएको थियो। उक्त खोप दुई महिनाभन्दा कम समय मात्रै मानिसहरूमा परीक्षण गरिएको थियो। तर विज्ञहरूले रुसले यति चाँडै खोप बनाएकोप्रति सन्देह व्यक्त गरेका छन्। त्यस्तो सन्देह व्यक्त गर्ने देशहरूको सङ्ख्या बढिरहेको छ।

यसै क्रममा रुसले विकास गरेको कोरोनाभाइरस विरुद्धको खोप फिलिपिन्स र भेनेजुएलाले प्रयोग गर्ने भएका छन् । रुसले हालै दर्ता गरेको नयाँ खोप ‘स्पुटनिक पाँचौ’ को प्रयोग गर्न फिलिपिन्स र भेनेजुएला तयार भएका हुन् । परीक्षण सफल भएपछि भेनेजुएलामा उक्त खोपको प्रवर्द्धन र प्रयोग गरिने यहाँका अधिकारीहरुले जनाएका छन् । रुसी अधिकारीहरुका अनुसार भेनेजुएलाले उक्त खोप दर्ता हुनुअघि नै क्लिनिकल ट्रायलमा नै सहभागी हुन प्रस्ताव गरेको थियो । साथै बजारमा उक्त खोपको प्रवर्द्धन गर्ने बताइएको हो ।

यस्तै फिलिपिन्सले पनि यही वर्षको अन्त्यअघि नै क्लनिकल परीक्षण गरिने बताएको छ । रुसले भने क्लिनिकल ट्रायल सुरु हुनुअघि नै खोप दर्ता गरेको हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त खोपलाई विभिन्न चरण हुँदै आम जनतामाझ पुर्‍याउने बताएका छन् । पुटिनले यसअघि आफ्नी छोरीमाथि खोप परीक्षण गरिसकेको जनाएका छन् । साथै उनले खोप पूर्ण रुपमा सुरक्षित भएको दावी गर्दैआएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले यो खोपबारे समीक्षा गर्न आफूले रुसी अधिकारीहरूसँग सम्पर्क गरिरहेको बताएको छ।मस्कोले उक्त खोपको नाम स्पुत्निक राखिने जनाएको छ। उक्त खोप विश्व स्वास्थ्य सङ्गठनले तेस्रो चरणको परीक्षणमा पुगेका भनी सूचिकृत गरेका ६ वटा खोपहरूको सूचिमा रहेको छैन। रुसी खोपबारे विशेषगरी अमेरिका र युरोपमा प्रश्न उठिरहेको छ।

जर्मनीका स्वास्थ्य मन्त्री येन्स स्पानले भनेका छन्, “लाखौँ मानिसहरूलाई खोप लगाउन सुरु गर्नु एउटा खतरनाक कुरा हो किनकी यदि त्यसमा केही खराबी भएमा मानिसहरूको खोपप्रतिको विश्वास नै उड्नेछ।” “हामीलाई जेजति जानकारी छ, त्यसका आधारमा के थाहा हुन्छ भने खोपको उचित परीक्षण भएको छैन… पहिले खोप बनाउनेको होइन, जरुरी त के छ भने एउटा सुरक्षित खोप विकास होस्।”

फ्रेन्च न्याशनल सेन्टर फर साइन्टिफिक रिसर्चकी अनुसन्धानकर्ता इसाबेल इम्बर्टले ला पेरिसियो अखबारलाई यति चाँडो उपचारको दाबी गर्नु निकै खतरनाक हुनसक्ने बताएकी छन्। अमेरिकाका वरिष्ठ भाइरस रोगका चिकित्सक डा. एन्टोनी फाउसीले रुसी दाबीप्रति आशङ्का व्यक्त गरे।

इजरेलले यदि यो “गम्भीर उत्पादन” भएमा किन्नका लागि सम्झौता गर्ने जनाएको छ। अहिले विश्वमा विभिन्न देशमा समानान्तर रूपमा दर्जनौँ खोपको निर्माण र केहीको मानवमा परीक्षण गर्ने काम भइरहेको छ।

Related Articles

Back to top button
Close