समाचार

‘इरानमा जस्तै एक्कासी धेरै व्यक्तिमा कोरोना संक्रमण देखिए के गर्ने ?’- गगन थापा

काठमाडौँ — कांग्रेस सांसद गगन थापाले नेपालमा कोरोना भाइरस संक्रमण अहिलेसम्म देखिएको छैन भनेर ढुक्क हुने अवस्था नरहेको बताएका छन् । प्रतिनिधिसभामा शुक्रबार जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्नेक्रममा सांसद थापाले कोरोना संक्रमण फैलिए बच्‍नका लागि तयारी गरिराख्नु पर्नेमा जोड दिएका हुन् ।

‘अहिलेसम्म मुलुकमा संक्रमण देखिएको छैन, हामी ढुक्क भएका छौं,’ थापाले भने, ‘यस्तै ढुक्क भएर बसिरहँदा इरानमा जस्तै एक्कासी धेरै व्यक्तिमा संक्रमण देखियो भने के गर्ने ? यसबारेमा सरकारले सोचेको खै ?’

विश्‍व स्वास्थ्य संगठनले नेपाललाई भू-अवस्थितिले मात्रै जोखिममा नराखेको भन्दै, नेपालसँग भएको क्षमताका आधारमा पनि जोखिममा राखेको बताए । तसर्थ मेहनत गरेमा पूर्ण रुपमा नियन्त्रण गर्न नसकेपछि नियन्त्रणमा राख्न सकिने थापाले बताए । सरकारले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले यससँग जुध्न एकीकृत कार्ययोजना बनाउनु पर्ने र आवश्यक स्रोतको व्यवस्थापन गर्नु पर्ने थापाले बताए । यो समितिलाई सहयोग गर्नका लागि प्रतिनिधिसभाले पनि समिति बनाउनु पर्ने माग थापाको छ ।

कोरोनासँग जुध्ने योजना बनाउने काम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मात्रै नभई सरकार र आमनागरिक सबैको भएको थापाले बताए ।

बाहिरबाट नेपाल आउने नागरिकको अनिवार्य जाँच गर्ने व्यवस्था मिलाउने र त्यसका आधारमा जाँच गराउने व्यवस्था मिलाउन पनि माग गरे । उच्च जोखिम भएका मुलुकका नागरिकलाई ‘अनअराइभल’ भिसा रद्द गर्न पनि थापाले माग गरे ।

Related Articles

Back to top button
Close