समाचार

२१ दिन कडा लकडाउन गर्ने तयारीमा पुगेका हुन् प्रधानमन्त्री ओली ?

काठमाडौं । देशभर कोरोना भाइरस ( कोभिड–१९ ) को संक्रमण अनियन्त्रित शैलीमा फैलिँदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार जनस्वास्थ्यविद्हरुसंग छलफल गर्दैछन् ।काठमाडौंमा सोमबार सबैभन्दा बढी ६२ तथा केही दिनअघि ५३ जना संक्रमित देखिएपछि काठमाडौं सबैभन्दा ठूलो हटस्पट बन्दै जाने खतरा बनेको छ । त्यस्तै प्रदेश २ मा पनि ठूलो हटस्पट बन्दै गएको छ ।

केही स्थानीय पालिकाहरुले निषेधाज्ञा जारी गरिरहे पनि समग्र देशमै संक्रमण तीव्र भइरहँदा फेरि लकडाउनको विकल्प नभएको जनस्वास्थ्यविद्हरुले बताएका छन् ।प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मंगलबार बिहान ११ बजे जनस्वास्थ्यविद्हरुलाई बालुवाटार बोलाइएको हो ।

जनस्वास्थ्यविद् डा रविन्द्र पाण्डेले तीन हप्तासम्म कडा लकडाउन लगाउने हो भने संक्रमितको ७५ प्रतिशत संखया घटाउन सकिने भन्दै तत्काल लकडाउन लगाउनुको विकल्प नभएको बताएका छन् ।डा पाण्डेले लकडाउन लामो समय लगाइरहनु भन्दा अहिलेनै लकडाउन गरिहाल्ने र त्यसपछि बिस्तारै कम संक्रमित भएका स्थानमा खोल्दै जाने गर्नुपर्ने बताए ।

सरकारले चैत ११ गते २ जना संक्रमित भएका बेलामा लकडाउन लगाएको थियो । तर त्यसलाई व्यवस्थित नगर्दा लामो समय लकडाउन भएपछि सर्वसाधारणले तोडेका थिए ।विज्ञहरुका कुरा कम सुन्ने र आफ्नो तजबिजीले चल्ने प्रधानमन्त्रीले कस्तो निर्णय गर्लान् ? तर यसपटक उनलाई विज्ञहरुका कुरा नसुनी सु्खै छैन ।

१८ दिनदेखि कोरोनाको राम्रो स्वाथ्य सेवा तथा पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै सत्याग्रहमा रहेका ‘इनफ इज इनफ’ का अभियन्ता ‘ई’ को स्वास्थ्य समेत गम्भीर बनेको छ ।दुई दिनअघि डा पाण्डेले कम्तीमा १५ दिन कडा लकडाउन वा कर्फ्यु लगाउनुको विकल्प नभएको बताएका थिए ।

 

Related Articles

Back to top button
Close