समाचार

सेनामा भ्रष्टाचारबारेको छलफलमा गएनन् मन्त्री र प्रधानसेनापति, बैठक स्थगित

नेपाली सेनाभित्रको भ्रष्टाचार सम्वन्धी छलफलमा रक्षामन्त्री इश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा अनुपस्थित भएपछि सांसदहरुले आपत्ति जनाएका छन्। दुवैको अनुपस्थितिपछि संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठक स्थगित भएको छ।

सांसदहरुले सेनाभित्रको भ्रष्टाचार छलफलमा रक्षामन्त्री र प्रधानसेनापति अनुपस्थिति भएको भन्दै आपत्ति जनाएपछि समिति सभापति शशी श्रेष्ठले बैठक स्थगित गरिन्।

उनले अर्को बैठकमा अनिवार्य उपस्थित हुने सन्देश मन्त्री समक्ष पुर्‍याइदिन रक्षा सचिव रेश्मीराज पाण्डेलाई निर्देशन समेत दिइन्। उनले भनिन् ‘माननीयहरुले उठाउनुभएको विषयको सन्देश सहित अर्को बैठमा उपस्थित हुने गरेर आजको यो बैठक स्थगित गर्दछु।’

बैठकमा सांसद अमरेशकुमार सिंहले सेना भित्रको भ्रष्टाचार सम्बन्धमा बोलाइएको छलफलमा रक्षामन्त्री र प्रधानसेनापति अनुपस्थित भएको भन्दै समितिको मर्यादामाथि प्रहार भएको बताए। उनले नेपाली सेनाको तर्फबाट समेत प्रधानसेनापति नै जवाफदेहि हुने भएकाले अन्य प्रतिनिधिको जवाफ आफुले नसुन्ने बताए। ‘संसदीय समिति भनेको मिनि पार्लामेन्ट हो। त्यसैले मन्त्री नआइकन छलफलको औचित्य छैन र ब्रिफिङ पनि चिफले नगरिकन अन्यको त्यति महत्व राख्दैन’ उनले भने।

त्यस्तै संसदलाई जवाफ दिने हैसियत सचिवलाई नभएको भन्दै पोर्टोकलको ख्याल राख्न समेत उनले माग गरे।

‘हामी नेपाली सेनालाई ठेकदार बनाउन खोजेका छौं कि नेपाली सेना बनाउन खोजेका छौं, सरकारले जवाफ दिनुपर्छ’ उनले भने ‘सचिवज्युको हैसियत होइन जवाफ दिने।’

सांसद झपटबहादुर रावलले विभागीय मन्त्री र सेनाको प्रमुख बिना भ्रष्टाचार जस्तो गम्भिर विषयमा छलफल अगाडि बढ्न नसक्ने बताए।

सांसद डिला संग्रौलाले नेपाली सेना भित्र अझैपनि आर्थिक र नीतिगत भ्रष्टाचार हुनेवाला छ भन्ने विषय आएकाले यसमा सम्बन्धित मन्त्रालय र नेपाली सेनाले स्पस्ट पार्नुपर्ने बताइन्।

‘उच्च सैनिक अधिकृतहरुले आफुखुसी मनपरेको गण गुल्ममा रही बजेट निकासा गरेको भन्ने कुरा पनि आएको छ। यो के हो? यसको पनि सत्य तथ्य आउनुपर्छ’ उनले भनिन् ‘बढुवा गर्दा सैक्षिक योग्यताको कुरा पनि आएको छ। फास्ट ट्रयाक निर्माण गर्दापनि सेनालाई जिम्मा दिएको छ। त्यहाँपनि भ्रष्टाचार भएको छ अख्तियारले हेर्न मिल्दैन। ’

सांसदहरुले अख्तियारले हेर्न मिल्दैन भन्दै सेनाभित्र ठूलाठूला अनियमितताहरु हुने गरेको बताए। नेपाली सेनाभित्र भ्रष्टाचार भएको दावी गर्दै सांसद रेनुका गुरुङले उजुरी गरेपछि समितिले कार्यदल बनाई आठ महिना लगाएर अध्ययन गरेको थियो।

नेपाली सेनाभित्र आर्थिक भ्रष्टाचार, अनियमितता र नीतिगत भ्रष्टाचार हुने गरेको अध्ययनले देखाएको छ। सोही प्रतिवेदन माथि छलफल गर्न बोलाइएको बैठकमा रक्षामन्त्री र प्रधानसेनापति अनुपस्थित भएपछि बैठक स्थागित भएको हो।

Related Articles

Back to top button
Close