समाचार

ओली र प्रचण्डबीच बोलचाल नै बन्द, विष्णु पौडेलको सन्देशले काम गरेन !

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच संवाद नै हुन् छाडेको छ ।पछिल्लो चार दिनयता उनीहरुबीच औपचारिक रुपमा संवाद नै भएको छैन । गत मंगलबार डाकिएको स्थायी कमिटीको बैठक ओलीले अनिश्चितकालका लागि स्थगित गरेका थिए ।

तर, यसलाई अस्वीकार गर्दै बालुवाटारमा प्रचण्डले बहुमत सदस्यको स्थायी कमिटीको बैठक राखे । सोही दिन दुई अध्यक्षबीच कुराकानी भएयता संवाद भएको छैन । जस कारण नेकपाभित्रको विवाद पेचिलो र सकसपूर्ण बन्दै गएको छ ।ओलीको असहमतिका बाबजुद प्रचण्डले राखेको स्थायी कमिटीको बैठकले स्थगित बैठकलाई सुचारु गर्न अर्का अध्यक्ष ओलीसँग सल्लाह गरेर पहल गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । तर, सोही बैठकले चिसोपना बढाएपछि प्रचण्डलाई बैठक सुचारुका लागि पहल गर्न सकस परेको देखिन्छ ।

यही साउन १३ गते अघि केही हप्ता ओली र प्रचण्डबीच दैनिक बालुवाटारमा छलफल हुन्थ्यो । तर, अहिले बैठक सुचारु गर्न पहलका लागि प्रचण्ड ओलीलाई भेट्न गएका छैनन् ।बरु ओलीका विश्वासपत्र तथा पार्टीका महासचिव विष्णु पौडेललाई बिहीबार आफ्नो निवास खुमलटार बोलाएर प्रचण्डले सन्देश पठाएका छन् ।

प्रचण्डले महासचिव पौडेलमार्फत ओलीलाई निकास निस्कनेगरी छलफलमा बस्न प्रस्ताव गरेका छन् । प्रचण्डले महासचिव पौडेललाई बोलाएर विवाद समाधान गर्ने गरी छलफलका लागि तयार हुन ओलीलाई बैठकको समय मिलाउन प्रस्ताव गरेका हुन् ।

तर, सो प्रस्ताव बालुवाटार पुगेको २४ घण्टा बित्न लाग्दा पनि प्रगति भएको देखिँदैन । दुई अध्यक्षबीचको दूरी घटाएर ओली र प्रचण्डलाई आमनेसामने बसेर छलफल गर्ने वातावरण बनाएको छैन ।

Related Articles

Back to top button
Close