समाचार

कसरी फैलियो स्याङ्जा प्रहरीमा कोरोना?

कोरोना भाइरसविरुद्धको लडाइँमा जिल्ला प्रहरी कार्यालय स्याङ्जा सबभन्दा बढी प्रभावित छ। जिल्ला कार्यालयमा कार्यरत ९८ जना प्रहरी तथा कर्मचारीमध्ये स्याङ्जा प्रहरी प्रमुख एसपीसहित ३८ जना कोरोना संक्रमित भएका छन्।कार्यालयमा रहेका चार जना थुनुवामध्ये एक जनामा पनि संक्रमण देखिएको छ। अझै पाँच जना प्रहरी-कर्मचारीको परीक्षण रिपोर्ट आउन बाँकी रहेको स्याङ्जा प्रहरीका निमित्त प्रमुख डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए।

नियमित ड्युटीमा खटिएका प्रहरी-कर्मचारीलाई सामान्य ज्वरो देखिएपछि उनीहरूको स्वाब परीक्षण गर्दा साउन ६ गते तीन जनामा कोरोना भाइरस देखिएको थियो। उनीहरूको कन्ट्याक्ट ट्रेसिङ गर्दा जिल्ला प्रहरी कार्यालयमा कार्यरत सबै प्रहरी-कर्मचारी र थुनुवाको समेत कोरोना परीक्षण गरियो। यसरी परीक्षण गर्दा सोचेभन्दा धेरै प्रहरी-कर्मचारीमा संक्रमण फैलिएको पाइएको डिएसपी अधिकारीले बताए।

देशभरका सुरक्षा निकायमध्ये एकैपटक यति ठूलो संख्यामा कोरोना देखिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जा नै हो।स्याङ्जा प्रहरीमा कोरोना कहाँबाट फैलियो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन । डिएसपी अधिकारीले जिल्ला प्रहरी कार्यालय आउने सेवाग्राहीबाट वा ड्युटीमा खटिँदा सरेको हुन सक्ने आशंका गरेका छन्।

‘आइसोलेसन र क्वारेन्टिनमा खटिएका प्रहरीबाट सरेको होइन,’ डिएसपी अधिकारीले भने, ‘उनीहरूको पिसिआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि मात्र कार्यालयमा ल्याएका थियौं।’

यता स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यमप्रसाद शर्माले पनि क्वारेन्टिन र आइसोलेसनबाट स्याङ्जा प्रहरीमा कोरोना भाइरस नफैलिएको बताए। ‘प्रहरीभन्दा अगाडि त स्वास्थ्यकर्मी थिए,’ उनले भने, ‘स्वास्थ्यकर्मीलाई नसर्ने प्रहरीलाई सर्ने भन्ने हुँदैन, त्यही पनि उहाँहरूको पनि कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो।’

त्यसो भए कसरी फैलियो त?स्याङ्जा प्रहरीमा कोरोना भाइरसको फैलावट अन्य जिल्लाको तुलनामा फरक देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताए।‘सुरूमा तीन जनामा देखिएपछि तत्काल कन्ट्याक्ट ट्रेसिङ गर्यौं,’ उनले भने, ‘कन्ट्याक ट्रेसिङमा परेकाहरूमा पनि कोरोना संक्रमण देखियो।’ यसअघि बाग्लुङ, पर्वत, तनहुँ, गोरखामा देखिएको कोरोना भाइरसको गुणभन्दा अहिले स्याङ्जा प्रहरीमा देखिएको भाइरस छिटो फैलिएको उनले बताए।

उक्त जिल्लाहरूमा भारत र अन्य स्थानबाट आएका कोरोना संक्रमितबाट स्थानीय स्वास्थ्यकर्मी लगायतलाई कोरोना भाइरस सरेको थियो। उनीहरूको कन्ट्याक्ट ट्रेसिङ गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो। स्याङ्जा प्रहरीमा भने छिटो छिटो फैलिएको र धेरै पोजेटिभ केस देखिएको डा. शर्माले बताए।

स्याङ्जा प्रहरीमा देखिएको कोरोनाको स्रोत पत्ता लगाउन स्वास्थ्य कार्यालय स्याङ्जा, जिल्ला अस्पताल, प्रदेशका स्वास्थ्य टोली र विश्व स्वास्थ्य संगठनका प्रतिनिधि लागिपरेको उनले बताए।

अहिले यहाँ संक्रमित देखिएका सबै प्रहरी-कर्मचारी र थुनुवाको समेत कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ। स्याङ्जा प्रहरीको सम्पर्कमा रहेका ८४ जनाको स्वाब संकलन गरेर पोखरास्थित प्रयोगशालामा पठाइसकेको छ। अझै १६ जना संक्रमित प्रहरी-कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्न बाँकी रहेको शर्माको भनाइ छ।

त्यस्तै, प्रहरी कार्यालयभित्र थुनुवामा देखिएको कोरोनाको कन्ट्याक्ट ट्रेसिङ गरेर १६ जनाको स्वाब संकलन गरेको उनले बताए। स्वाब लिइएकामध्ये १२ जना अहिले क्वारेन्टिनमा छन्।

अहिलेसम्म कोरोना भाइरस देखिएका स्याङ्जा प्रहरीका ३३ जना संक्रमित कालिका सामुदायिक अस्पताल हेलुको आइसोलेसनमा छन् भने ४ जना करेन्डाँडास्थित स्वास्थ्य चौकीको आइसोलेसनमा बसेका छन्। स्याङ्जा प्रहरी प्रमुख एसपी भने जिल्ला कार्यालयमै आइसोलेसनमा छन्।

स्याङ्जामा अहिलेसम्म २ सय ४९ जना कोरोना संक्रमित भेटिएकोमा १ सय ९१ जना निको भएर घर फर्किसकेका छन् भने दुई जनाको मृत्यु भइसकेको छ। स्याङ्जामा अझै २ सय जना क्वारेन्टिनमा रहेको स्याङ्जाका स्वास्थ्य प्रमुख यमप्रसाद शर्माले बताए।

स्याङ्जा प्रहरीमा ठूलो संख्यामा कोरोना संक्रमण देखिएपछि जिल्लामा लकडाउन कडा पारिएको छ। सोमबारदेखि स्याङ्जामा अत्यावश्यक सेवाबाहेक अन्य सवारी साधन र पसल बन्द गराएको स्याङ्जा प्रशासनले जनाएको छ।

Related Articles

Back to top button
Close