समाचार

दार्चुलाका सिडिओको भारतलाई जवाफ- कालापानी, लिम्पियाधुरा हाम्रो भू-भाग हो, आवतजावत स्वभाविक

केही साताअघि भारतले कालापनी, लिम्पियाधुरा क्षेत्रमा नेपालीलाई प्रवेशमा रोक लगाउनु भनेर पत्र लेखेपछि नेपालले पनि जवाफ फर्काएको छ।जिल्ला प्रशासन कार्यालय दार्चुलाले मंगलबार भारतको धार्चुलाका उपजिल्ला अधिकारीलाई जवाफ फर्काएको हो।धार्चुलाबाट गुन्जी, कालापनी, लिम्पियाधुरा क्षेत्रमा नेपाली आवतजावत बढेको र त्यसमा रोक लगाउन भन्दै केही साताअघि धार्चुलाले जिप्रका दार्चुलालाई पत्र पठाएको थियो।

भारतले पत्र पठाएपछि प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले गृह मन्त्रालयलाई पत्राचार गरेका थिए।’हामीलाई पत्र आएपछि के गर्ने भनेर गृह मन्त्रालयलाई पत्राचार गरेका थियौं,’उनले सेतोपाटीसँग भने,’हिजो बेलुकी त्यसको जवाफ आएपछि मैले भारतलाई पत्र पठाएको हो।’जिप्रका दार्चुलाले पठाएको पत्रका गुन्जी, कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्र नेपालकै भू-भाग भएको हुँदा नेपालीहरूको आवतजावत स्वभाविक रहेको उल्लेख छ।

पत्रमा लेखिएको छ,’सन् १८१६ मा सम्पन्न सुगौली सन्धीको धारा ५ र त्यस चरणमा प्रकाशित नक्सा एवम् तथ्य प्रमाणहरूका अनुसार कालीनदी र लिम्पियाधुरा, नाबी, कुटी, गुन्जी, कालापानी, लिपुलेक लगायतका क्षेत्र नेपालको भू-भाग रहेको कुरा प्रष्ट नै छ। उल्लेखित भू-भाग नेपाली भएको हुँदा नेपालीहरूको आवतजावत हुनु स्वभाविक नै रहेको र त्यसमा कुनै बाधा अड्चन हुनुहुँदैन भन्ने नेपाल सरकारको धारण रहेको जानकारी गराइन्छ।’

‍गत नोभेम्बरमा भारतले कालापानी, लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेपछि दुई देशबीच सीमा विवाद सुरू भएको थियो। त्यसपछि नेपालले पनि कालापानी, लिम्पियाधुरा समेटेर जेठ ७ गते आफ्नो नयाँ नक्सा जारी गरेको थियो।अहिले नेपाल सरकारले टिङ्कर, छाङरूङ क्षेत्रमा सशस्त्र प्रहरी तथा नेपाली सेना पठाएपछि त्यस क्षेत्रमा चहलपहल बढेको छ। जसकारण भारत सशंकित भई पत्र पठाएको हुनुपर्ने अनुमान सहायक प्रमुख जिल्ला अधिकारी टेक सिंह कुँवरले गरे।

Related Articles

Back to top button
Close